Kathmandu, Sunday, Jan 8, 2006 (Poush 24, 2062)
 
  स्वास्थ्य

फड्को उपचारमा

धेरैलाई थाहा नहुन सक्छ, मुलुकले पछिल्लो एक दशकमा चिकित्साक्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ ।

दीपक अधिकारी

सयौँ बेरोजगार नेपाली युवाजस्तै धनुषाको गोपालपुर गाविस वडा-५ का कमलदेव यादव, ३५, साढे तीन वर्षअघि साउदी अरबको दम्माममा चालकको काम गर्न गए । सलाहेप कम्पनीमा कार्यरत उनले घर आउन छुट्टी मागिरहेका थिए तर साहूले झुलाइरहेको थियो । चार महिनाअघि दम्मामको राजमार्गमा उनले हाँक्दै गरेको 'डेलिभरी ट्रक' एउटा सानो गाडीसँग जुध्न पुग्यो । सम्भावित जुधाइबाट जोगिन कमलदेवले ट्रक मोड्दा पर्खालमा गएर ठोक्कियो ।

तीन मिनेटभित्रै प्रहरी आइपुग्यो । दुर्घटनास्थलमा १५-२० वटा गाडी पल्टेका थिए । घाइतेलाई अस्पताल पुर्‍याइयो । कमलदेवको दाहिने खुट्टा भाँच्चिएको थियो । उनले काम गर्ने कम्पनीको साहूले डाक्टरलाई कमलदेव हिन्दू भएको बताएपछि उपचार बन्द गरियो  । दुई टुक्रा भएको देब्रे तिघ्राको हड्डी शल्यक्रिया नगरी राखिएको थियो । "तर, घाउ पनि खोलिदिए," उनी भन्छन् । न कम्पनीले बीमाको पैसा दियो, न त नेपाली दूतावासले नै सहयोग गर्‍यो । उनीसँगै भर्ना भएका अर्का एक सहृदयी बिरामीले सुझाए, "दम्मामको शेखलाई बिन्तीपत्र चढाऊँ, केही होला कि !" नभन्दै शेखले उनको बिन्ती सुने । त्यसपछि मात्र उनको घर फर्किने इच्छा साकार भयो । तर, उनको पहिलेजस्तै सामान्य जीवन बाँच्ने, हिँडडुल गर्नसक्ने इच्छा त्यत्तिकै रह्यो ।

हो, यहीँनेर जीवनदान दिन आइपुग्छन् स्वदेशी डाक्टर, तिनीसँगै अहोरात्र खट्ने टिम र स्वास्थ्य उपचारका केही क्ष्ाेत्रमा एक दशकयता मुलुकले गरेको उल्लेख्य प्रगति । कमलदेव मात्र होइनन्, धेरै नेपाली र विदेशीसमेत चाबहिलस्थित मेडिकेयर अस्पतालमा साढे तीन वर्षअघि स्थापित हाडजोर्नी विभागका अध्यक्ष तथा हाडजोर्नी विशेषज्ञ डा चक्रराज पाण्डेको सीप र ज्ञानबाट लाभान्वित भएका छन् । तर यो परिवर्तन रातारात आएको चाहिँ होइन  । "एक समय 'फ्याक्चर' हुँदा 'प्लास्टर' मात्र गरिन्थ्यो," टर्कीको हाजेतेथे विश्वविद्यालयबाट हाडजोर्नीसम्बन्धी विशेषज्ञता हासिल गरेका डा पाण्डे भन्छन्, "नेपालमा घुँडा दुख्ता जसले पनि युरिक एसिड भएको भन्ने गर्थे ।" तर, अहिले अवस्था भिन्न छ । अब घुँडा तथा नितम्बको जोर्नी प्रत्यारोपण नेपालमै हुन थालेको छ । भारतदेखि युरोपेली मुलुक र अमेरिकासम्मका बिरामीले हाडजोर्नीको शल्यक्रिया नेपालमा गराएका छन् । अमेरिकाको क्यालिफोर्नियामा अध्ययनरत अभिषेक घिमिरेले हालसालै मेडिकेयरकै हाडजोर्नी विभागमा शल्यक्रिया गराए । थाइल्यान्डको ब्याङ्ककमा सात लाख रुपियाँसम्म खर्च हुने 'जोइन्ट रिप्लेसमेन्ट' नेपालमा अढाइ लाखमै हुने डा पाण्डे बताउँछन् । औसत शल्यक्रियाको नेपालमा ४०-५० हजार रुपियाँसम्म पर्छ । "तर, गरिब नेपालीले यस अत्याधुनिक प्रविधिबाट फाइदा लिन सकेका छैनन्," उनी भन्छन् ।

सात-आठ वर्षअघिसम्म भाँच्चिएका खुट्टालाई ट्रयाक्सनमा झुन्ड्याएर निको गराइन्थ्यो । अहिले अत्याधुनिक प्रविधि भित्रिएपछि सानो घाउ पारेर भाँच्चिएका हड्डीलाई स्थिर बनाउन थालिएको छ । डेढ वर्षअघि मोटरसाइकल दुर्घटनामा परेका क्रिकेटर अनीश खरेलले यही पछिल्लो प्रविधिबाट उपचार पाई साढे दुई महिनापछि नै पुनः खेलजीवनमा र्फकन पाए । अनीश मात्र होइन, खेलकुदका क्रममा घाइते भएका नेपाली खेलाडीहरूले अब विदेशी अस्पताल चहार्नु नपर्ने भएको छ । आधुनिक अर्थोपेडिक्स -हाडजोर्नी चिकित्साशास्त्र) ले बिरामीलाई स्वतन्त्र हुन सहयोग गरेको डा पाण्डेको ठहर छ । "दुर्घटनामा परेर आएको बिरामी यहाँ एक रात सुतेर भोलिपल्ट हिँडेर घर जाने हुनसक्छ," डा पाण्डे सगर्व सुनाउँछन् । डा पाण्डेको टोलीका सदस्यमा डा राज राणा, डा भाष्करराज पन्त, नर्सहरू कामना सुवाल, विभिसा बिसी, राजेश सिंह र रुचि अधिकारी पन्त छन् । अर्थोपेडिक्सकै अर्को बिर्सनु नहुने नाम हो डा अशोक बाँस्कोटा । डा बाँस्कोटाको ललितपुरको सातदोबाटोस्थित बीएन्डबी अस्पताल र बनेपाको अपाङ्ग अस्पतालले पनि यस क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएका छन् ।


© 2000, Kantipur Online